
लण्डन । बेलायतको रेडिङ शहरमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।
रेडिङको ‘रोयल बर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ उनको निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले जानकारी दिए ।
उनले विगत केही महिनादेखि ढाडको समस्या झेलिरहेका थिए । ढाडकै समस्याका लागि नियमित औषधि सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा अफ्ठेरो भएपछि अप्रिल १३ तारिख आइतबार अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ अध्यक्ष गुरुङले जानकारी दिए ।
कास्कीका याङ्जाकोट पुर्ख्यौली भएका मृतक गुरुङको पछिल्लो समय पोखराको सैनिक बस्तीमा समेत घर थियो । हंगकंग हुँदै बेलायत आएका उनी लामो समयदेखि परिवारसहित बेलायतमा बस्दै आएका थिए । उनको परिवारमा श्रीमती र एक छोरा छन् ।
यसअघि बेलायतमा डेढ दर्जन बढि नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।