बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सुरु

-


     मर्दी न्युज    
     वैशाख १२ गते २०७७ मा प्रकाशित


एजेन्सी । कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु गरिएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

बिहीबार सुरुमा स्वस्फूर्त रूपमा तयार भएका २ जनालाई खोप दिइएको छ । खोपको परीक्षण अध्ययनका लागि ८ सय जनाभन्दा बढी मानिसले खोप लगाउने सूचीमा नाम लेखाएका छन ।

बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक इलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन ।

अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सय जनासम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन् । उक्त खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताएकी छिन् । यो खोप ३ महिनाभित्र अक्सफोर्ड विश्वविद्यालयको टोलीद्वारा विकसित गरिएको हो ।

बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ३८ हजारभन्दा बढी देखिएको छ ।