
फाइल तस्विर
पोखरा, १३ वैशाख । विश्व प्रख्यात पर्यटक पदमार्ग अन्नपूर्ण आधार शिविरको देउराली र हिङ्कु गुफाको बीचमा गत माघ ३ गते हिउँपहिरोमा पुरिएर बेपत्ता भएकामध्ये आज शनिवार थप २ जनाको शव फेला परेको छ ।
गत माघ ३ गतेको हिउँपहिरोमा ४ कोरियाली पर्यटकसहित ३ जना नेपालीको ज्यान गएको थियो । पहिरोमा परी बेपत्ता भएको दुई जनाको शव मोदीखोला भन्दा केहि माथी देखिएको स्थानीयले बताएको छ ।
उक्त दुईवटा शव कोरियाली पर्यटकको हुनसक्ने स्थानीयले बताएको छ । भोलि आइतवार शुवलाई पहिरोबाट बाहिर निकालिने स्थानीय देउराली ड्रीम लजका संचालक कृष्णमान गुरुङले बताए । गुरुङका अनुसार प्रहरी लगायत सरोकारवालाहरुलाई खबर पुगिसकेको बताएका छन् ।
शवको तस्वीर खिचे पनि सम्बन्धित निकायमा सम्प्रेषण गर्न नेटवर्कका कारण कठिनाई भइरहेको पानोरमा लज देउरालीका राम गुरुङले बताए ।
यस अघि गत बुधवार नेपाली सहयोगी मेनबहादुर तामाङको शव फेला पारी हिजो शुक्रवार मात्र पोखरा ल्याएका थिए । त्यसैगरी यसअघि फागुन १६ गते अर्का नेपाली सहयोगी सरोज परियारको पनि शव निकालिएको थियो ।