
काठमाडौँ । वीरगन्जमा लगातार ३ पटकसम्म गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज–१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ ।
उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।
उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको बुझिएको छ । एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले अस्पताल लगेका थिए ।