पोखरा, १६ वैशाख । विश्व प्रख्यात पर्यटक पदमार्ग अन्नपूर्ण आधार शिविरको देउराली र हिङ्कु गुफाको बीचमा गत माघ ३ गते हिउँपहिरोमा पुरिएर बेपत्ता भएकामध्ये आज सोमवार थप १ जना कोरियाली पर्यटकको शव फेला परेको छ । योसँगै आजसम्म ५ जनाको शव प्राप्त भइसकेको छ
गत माघ ३ गते गएको हिउँपहिरोमा ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली सहयोगी बेपत्ता भएका थिए । सोमवार कोरियाली पर्यटकको शव मोदीखोला भन्दा केही माथीबाट निकालिएको स्थानीयले बताएको छ ।
शवलाई आज पोखरा हुँदै काठमाडौं लैजाने कुरा खोजी कार्यमा सम्लग्न नेपाली सेना तथा नेपाल प्रहरीलाई उद्धृत गर्दै स्थानीय देउराली ड्रीम लजका संचालक कृष्णमान गुरुङले बताए । यो समाचार तयार पार्दासम्म शव लैजानको लागि पोखरा हेलिकप्टर अवतरण गरिसकेको उनले बताए ।
हिउँपहिरोमा बेपत्ता भएका एक कोरियाली नागरिक र एकजना संखुवासभा स्थायी ठेगाना भएका नेपाली गाइडको खोजीकार्य जारी छ । खोजीकार्यमा स्थानीय छोम्रोङ्गको सेन्चुरी युवा क्लब तथा स्थानीय होटल ÷ लज व्यवस्थापन समितिको पनि सक्रियता रहेको छ ।
यस अगाडि नै फरक फरक मितिमा नेपाली सहयोगीहरु सरोज परियार, मेन बहादुर तामाङ र २ जना कोरियाली पर्यटकको शव फेलापरि सकेको थियो ।