फाइल तस्विर
पोखरा । आज उभौली पर्व । प्रकृतिपूजक किरात जातिले मनाउने प्रसिद्ध पर्व । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो ।
वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । प्रकृतिको आराधना गरिन्छ नाचद्वारा । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । आदिवासी जनजाति समुदायले यस चण्डी पूर्णिमा भूमी, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन पनि मानिन्छ । सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्छन् भन्ने विश्वास छ । त्यसैले उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।
किरात समुदायले मनाउने उभौली र उधौली पर्व कृषि तथा पशुपालनसँग सम्बन्धित छन् । आज वैशाख शुक्ल पूर्णिमा उभौली हो भने मंसिर शुक्ल पूर्णिमा उधौली हो । उभौलीमा लगाइएको बाली उधौलीमा भित्र्याइन्छ । उभौलीमा अन्नवाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस भन्ने कामना गरिन्छ ।
गुरुङ जातिले पनि यस वैशाख पूर्णिमामा चण्डी पूजा तथा पितृ पूजा गरी घाँटु नाच नाच्ने चलन छ । किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच नाचिन्छ । त्यसैले यो पर्व सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ ।
यस वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण डेढ महिनादेखि जारी बन्दाबन्दीका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधि गर्ने तयारी गरिएको विभिन्न समुदायले बताएका छन् । गाउँघरमा पूजाआज गरी मनाइने यस पर्व आजभोलि शहर बजार झरेसँगै विभिन्न समुदायले आआप्mनो नाच देखाउने चलन बढ्दै गएको थियो । यसवर्ष कोरोनाका कारण पूजामा मात्र सीमित गरिने उनीहरुले बताएका छन् ।