पोखरा, १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले बुधवार जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हो । खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने उनको भनाइ छ ।
प्रमुख रयानले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर आधारहीन भविष्यवाणी नगर्न पनि चेतावनी दिएका छन् । ‘यो कहिल्यै निर्मूल नहुन पनि सक्छ,’ डाक्टर रयानले भने, ‘यो रोग दीर्घकालीन समस्या हुन पनि सक्छ वा नहुन पनि सक्छ ।’
रयानका अनुसार, आममानिसलाई बिना कुनै खोप रोग प्रतिरोधी क्षमताको विकास उपयुक्तस्तरमा पुग्न वर्षौं लाग्न सक्छ । कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि विभिन्न देशले सयौं प्रयास गरे पनि विज्ञहरुका अनुसार तत्काल कुनै भ्याक्सिन तयार हुने लक्षण देखिएको छैन ।
अहिले विश्वका धेरै मुलुकहरूले लकडाउन खुकुलो पार्दै गएको अवस्थामा डब्ल्यूएचओका प्रमुख डा. ट्रेडोस एडहानोम गेहब्रेयससले यसले कोरोना भाइससको संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन् । डब्ल्यूएचओले अझै पनि विश्वका सबै मुलुकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ । ४३ लाखभन्दा धेरै मानिस संक्रमित छन् । एजेन्सीको सहयोगमा