पोखरा, ७ जेठ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ३ लाख २४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । बुधवार बिहानसम्म विश्वभर गरी कोरोनाका कारण ३ लाख २४ हजार ५ सय ३५ जनाले ज्यान गुमाएको वल्र्डोमिटरको तथ्यांक छ ।
कोरोना भाइरसबाट विश्वभर गरी हालसम्म ४९ लाख ८२ हजार ८७५ जनामा संक्रमित भइसकेको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १५ लाख ७० हजार ५८३ जनामा पुष्टि भैसकेको छ ।
यसैगरी अमेरिकापछि सबैभन्दा धेरै संक्रमित हुने राष्ट्रमा रसिया पुगेको छ । रसियामा २ लाख ९९ हजार ९४१ जना कोरोना संक्रमित छन् ।
यसैगरी वल्र्डमिटरका अनुसार स्पेनमा २ लाख ७८ हजार ८०३, बेलायतमा २ लाख ४८ हजार ८१८, ब्राजिलमा २ लाख ७१ हजार ८८५ तथा इटलीमा २ लाख २६ हजार ६९९ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेमा पनि सबैभन्दा धेरै अमेरिका छ । अमेरिकामा ९३ हजार ५३३ जना कोरोना संक्रमणबाट ज्यान गएको छ । यसैगरी बेलायतमा ३५ हजार ३४१, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार २२ तथा स्पेनमा २७ हजार ७७८ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विश्वभर १९ लाख ५६ हजार ३६१ जना उपचारपछि निको भई घर फर्किसकेका छन् । उपचाररत २७ लाख १ हजार ९७९ जनामध्ये ४५ हजार ४४३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । सोमवार ८० जना र मंगलवार २७ जना कोरोना संक्रमणको संख्या थपिएसँगै संक्रमितको संख्या ४०२ पुगेको छ । ३७ जना उपचारपछि निको भएर घरफर्किसकेका छन् भने उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।