
पोखरा, १० जेठ । नेपालमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।
जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरु गरिएका छन् । हालसम्म ७० जना निको भई घर फर्किसकेका छन् ।