प्रेस युनियन अफ दी इयर अवार्ड सदस्य अनिषा श्रेष्ठलाई

-


     मर्दी न्युज    
     १३ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १३ जेठ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा मंगलबार २९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा प्रेस युनियन अफ दी इयर अवार्ड पत्रकार अनिषा श्रेष्ठलाई प्रदान गरिएको छ ।

कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले गतवर्षदेखि सञ्चालनमा ल्याइएको सो अवार्ड यसवर्ष पहिलो पटक कार्यसमिति सदस्य श्रेष्ठलाई प्रदान गरिएको हो । श्रेष्ठलाई नगद पाँच हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि काँग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य सुर्यबहादुर केसीले अवार्ड प्रदान गरेका थिए ।प्रमुख अतिथि केसीले अब पनि यहि तरिकाले लकडाउन बढाउँदै जाने हो भने भयावह अवस्था सृजना हुने बताए । केसीले भने, ‘अब कृषि, उत्पादनशिल र अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छ ।’

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रलाई जोगाउनका लागि पत्रकारले सधै खबरदारी गर्नुपर्ने बताए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले श्रमजीवी पत्रकारको सुरक्षाको विषयमा संगठनले सधै आवाज बुलन्द गर्ने बताए ।

नेपाल प्रेस युनियनका सल्लाहकार रविन्द्र बास्तोलाले यो अवार्डले पत्रकारितामा क्रियाशिल रहेकालाई प्रोत्साहन गर्ने बताए ।

सम्मानित व्यक्तित्व अनिषा श्रेष्ठले अवार्डले आफूलाई हौसला मिलेको बताईन् । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको थियाे ।