थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

-


     मर्दी न्युज    
     १३ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । नेपालमा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार थप ९० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसहित नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।महोत्तरीका २, जुम्ला स्थायी ठेगाना भएका हाल बारा बस्ने २ दुईजना पुरुष, अर्का बाराका ३ जना, रौतहटका २२ जना एक महिलागरी, सिराहका ५, धनुषाका १ जना गरी कुल ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगंजका 1 जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ। रुपन्देहीको प्रयोगशालमा परीक्षण गराएका ७ जनाको परीक्षण पोजिटिभ आएको छ।उनीहरु कपिवस्तु मायादेवीका २ र अर्घाखाँचीका २, गुल्मीका २ र रुपन्देही लुम्बिनी अस्पतालका १ जना गरी जम्मा ७ जनामा पोजिटिभ आएको हो।

यसैगरी सेती प्रादेशिक अस्पतालमा २ जनाको रिपोर्ट पोजिटिभ आएको छ।उनीहरु कैलालीका १ र अछामका १जना रहेका छन्।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजिटिभ आएको छ। यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ आएको छ।उनीहरु सुर्खेत विरेन्द्रनगरका ८ जना, भेरीगंगाका २ जना र सिम्ताका २ जना गरी १२ जनामा कोरोना पोजिटिभ देखिएको हो।

नेपालगन्जमै ७ जनामा कोरोना पोजिटिभ देखिएको छ।उनीहरु सबै बाँके डुडुवाका ४ जना, राप्ती सोनारीका २ र बैजनाथका १ जना गरी ७ जना संक्रमित पहिचान भएको छ। यसैगरी दाङमा पनि नयाँ संक्रमित थपिएका छन्।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा थप पोजिटिभ पहिचान भएको हो। संक्रमित जिल्ला ४६ वटा पुगेका छन्।

यस्तै हालसम्म आरडीटीबाट ९७ हजार ९६७ र पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा आरडीटी विधिबाट ३ हजार ७८२ र पीसीआर विधिबाबाट २ हजार ७७५ नयाँ नमूना परीक्षण भएका छन्।

डिस्चार्ज हुनेको संख्या १५५ पुगेको छ। जसमध्ये प्रदेश १ मा २६ प्रदेश २ मा ७६ बागमती प्रदेशमा ११ गण्डकी प्रदेशमा २ प्रदेश ५ मा ३५ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी कुल १५५ जना डिस्चार्ज भएका छन्। निको हुनेमा १२४ पुरुष र ३१ महिला छन्। रेडजोनमा ४५५ छन्। कोरोना जित्ने १५५ जना पुगेका छन् भने ४ जनाको मृत्यु भएको छ।