चालू आवको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर [आर्थिक सर्वेक्षणसहित]

-


     मर्दी न्युज    
     १३ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौँ, १३ जेठ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार सङ्घीय संसद्मा पेश गर्दै चालू आर्थिक सर्वेक्षण २०७६/७७ मा कोरोनाका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको सन्दर्भमा नेपालको आर्थिक वृद्धिदर सरकारले तय गरेको भन्दा निक्कै कम हुने बताए ।

यो वर्ष आर्थिक वृद्धिदर खुम्चने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार आउने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै चालु आर्थिक वर्ष २०७६/७७ प्रतिव्यक्ति आय भने एक हजार ८५ अमेरिकी डलर पुग्ने आकडामा पुगेको हो । प्रतिव्यक्ति आयमा हुने वृद्धि करिब सात प्रतिशत अर्थात ४६ अमेरिकी डलर हुन आउछ ।

डा. खतिवडाले फागुनसम्ममा अर्थतन्त्रका सूचक सकारात्मक दिशामा अघि बढिरहेको समयमा कोरोनाको विश्वव्यापी र नेपाल दुवै खाले अर्थतन्त्रमा सङ्कुचन ल्याएको जानकारी दिए । फागुनसम्म तीव्रता पाएको अर्थतन्त्रले चैतदेखि भने कोरोना प्रभावको सामना गर्न पुगेको उनको भनाइ थियो ।

कोरोना भाइरसको संक्रमण र त्यसबाट बच्न लिइएको लकडाउन नीतिले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्र सीमित रहने भएको छ । फागुनपछि अर्थतन्त्रमा कोरोनाको प्रभाव देखिन थालेको थियो । जसले आर्थिक वृद्धिदरमा नराम्रो धक्का पुग्ने सरकारी तथ्यांकले देखाएको छ ।