फुकुओकामा बिहान ८ बजे अवतरण गर्दै नेपाल एयरलाइन्सको विमान ।
सन थापा
जापान(क्योतो) मे २७ (१४ जेठ २०७७) । लकडाउनका कारण नेपालमा रोकिएका २ सय ६६ नेपाली विमान चार्टर्ड गरी आज जापान फर्किएका छन् ।
गैरआवासीय नेपाली संघ(एनआरएनए) क्यूशुको समन्वय तथा मार्गिक ट्राभल्स एण्ड टुर्स र रिसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सको व्यवस्थापनमा दुई जापानीज सहित उनीहरू फर्किएका हुन् । कुल २ सय ६८ यात्रु बोकेको नेपाल एयरलाइन्सको विमान मे २६ गते राति ११ बजे काठमान्डौबाट उडी जापानको फुकुओकामा बिहान ८ बजे अवतरण गरेको हो ।
बिदामा गइ रोकिएका नेपालीहरूलाई नाफामूलक भन्दा पनि सेवामूलक भावनाले विमान चार्टर्ड गरी जापान ल्याईएको गैरआवासीय नेपाली संघ(एनआरएनए) क्यूशुका सल्लाहकार एवं आपतकालीन उडान तथा यातायात समन्वय समितिका संयोजक छत्र दाहालले बताए । ट्राभल्स कम्पनी लगायत सबै सरोकार निकायको समन्वय र सहयोगमा फकुओकामा पहिलोपटक ऐतिहासिक रुपमा विमान चार्टर्ड गर्न सफल भएको दाहालको भनाई थियो । टोकियोको नारिताबाट आउनु पर्दा क्यूशु क्षेत्रका नेपालीलाई २० देखि ३० हजार महँगो पर्थ्यो उनले भने, आपतकालीन अवस्थालाई मध्यनजर गर्दै फुकुओकामा अवतरण गरिएको हो । कोरोना संक्रमणका कारण फर्कनेहरूले सार्वजनिक यातायात प्रयोग गर्न नपाइने हुँदा निजी सवारी नभएकाहरूलाई विमानस्थलबाट गन्तव्यस्थानसम्म पूर्याउने व्यवस्था गरिएको छ ।
दाहालका अनुसार फर्किएकाहरूमा ८०% विद्यार्थी २०% कामदार भिषाका छन् । जसमध्ये नागोया, ओसाका, कोबे क्षेत्रका २२, नागासाकीका १०, कुमामोतोका ८, खागोसिमाका ७, हिरोसिमाका ३ जना रहेका छन् भने बाँकी क्यूशु क्षेत्रका छन् । जापानबाट गत मार्चमा नेपालमा बिदामा गएका काठमाडौका सुरज मगरले विमान चार्टर्ड मार्फत जापान फर्कन पाउदा खुशी व्यक्त गरे । उनले भने, कलेज शुरू भए पनि लकडाउनका कारण नेपालमै अलपत्र पर्दा तनाव थियो,फर्कने व्यवस्था गरेकोमा एनआरएनए र पहल गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । ६ घण्टाको उडानपछि बिहान जापान अवतरण गरेको र ११ सय डलर भाडा तिरेको उनले बताए ।
यसरी फर्कनेहरू १४ दिन होम क्वाँरेनटाईनमा बस्नु पर्नेछ । यसअघि मे २४ मा नेपाल एयरलाइन्सको विमान टोकियोको नारितामा चार्टर्ड गरिएको थियो ।