पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले १३ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रमुख शेरचनले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
‘०६२/०६३ को जनआन्दोलनमा अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको स्मरण गर्दै प्रमुख शेरचनले ऐतिहासिक जनआन्दोलनलगायतका बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रलाई सुदृढ बनाउँदै समृद्धिका सपना पूरा गर्ने दिशामा तीनै तहका सरकार प्रयासरत रहेको उल्लेख गरेका छन् ।
गणतन्त्रलाई आम नागरिकले जीवन पद्धतिका रुपमा महसुस गर्न सक्ने अवस्था निर्माण गर्नु अहिलेको दायित्व भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
यस ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकतालाई सुदृढ गर्दै समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा सार्थक बनाउन प्रेरणा मिलोस् भन्ने प्रमुख शेरचनले शुभेच्छा प्रकट गरेका छन् ।