संसद्मा आज बजेट प्रस्तुत हुँदै

-


     मर्दी न्युज    
     १५ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज बिहीबार संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

सरकारले योपटक कोरोना भाइरस रोग (कोभिड–१९) जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दैछ । बजेटले यसपटक कोरोना महामारीबाट बिरामी बनेको अर्थतन्त्रलाई जोगाउने प्रयास गर्नेछ ।

फजुल खर्च कटौती, आयोजना पुनः प्राथमिकीकरण, विवादित कार्यक्रम खारेजी र पुराना केही कार्यक्रमलाई कोरोना प्रभावितका लागि प्याकेजमा समेटेर आउनुपर्ने विज्ञहरुले बताएका छन् ।

रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण तथा सुदृढीकरणलाई मूल प्राथमिकतामा राखेर बजेट तयारी गरिएको छ । रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप बदल्ने यसअघि नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ ।

प्रिबजेट छलफलका क्रममा सांसदहरूले भने कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन । रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित त्यस्ता क्षेत्रमा लगानी बढाउन उहाँहरूको सुझाव छ ।

अर्थमन्त्री खतिवडाको यो तेस्रो बजेट हो । पहिलो बजेट ०७५/७६ मा उनले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । जसमध्ये ११ खर्ब १० अर्ब खर्च भएको छ । त्यस्तै दोस्रो बजेट ०७६/७७ मा उनले १५ खर्ब ३२ अर्ब ९८ करोडको बजेट प्रस्तुत गरेकोमा मध्यावधि समीक्षाबाट अर्थमन्त्रीले नै १३ खर्ब ८५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेका थिए ।