फाइल तस्विर
पोखरा, १८ जेठ । बेलुका राम्रैसँग सुतेका बच्च भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्दै आँखा रातो पार्दै धमिलो देख्न थाले भने होशियार हुनुहोस् । उनलाई तुरुन्त अस्पताल पुर्याउनुहोस् । आँखा पाकेजस्तै अचानक एउटा आँखा रातो हुँदै कालो भागको बीचमा सेतो देखिने, चाँडो–चाँडो ज्योति कम हुँदै जाने, चिप्रा नआउने र खासै नदुख्ने लक्षण पाइएमा सिजनल हाईपरएक्युट पानुभिआइटिस (सापु) हुन सक्छ । आँखाको दृष्टि नै गुम्न सक्ने यो रोग यस वर्ष पनि देखिन थालिसकेको छ ।
प्रायः मध्य भदौ तथा असोज महिनामा देखिने यो पुतली आश्चर्यजनक रुपमा वर्षको सुरुवातमै देखा पर्न थालेको छ । हिमालयन आँखा अस्पतालमा वर्षको सुरुवातमै सापुका बिरामीहरु आउन थालेका छन् । पछिल्लो २ महिनामा ४ जना मानिस यसबाट पोखरामा संक्रमित समेत भइसकेका छन् । प्रभावित भएकामध्ये २ जना स्थायी रूपमा अन्धा भएका छन् । एक जना पूर्ण रुपमा निको भइसकेको छ भने अर्का एकजनाको उपचार भइरहेको डा. राजीव लालचनले फेसबुकमार्फत जानकारी दिएका छन् ।
कसरी लाग्छ त सापु रोग? चिकित्सकसँग समेत स्पष्ट उत्तर छैन । चिकित्सकहरू यो रोगको प्रमुख कारण सेतो पुतली हुनसक्ने अनुमान गर्छन् । सेतो पुतलीको पुच्छरको रौंमा हुने रसायन आँखामा प्रवेश गर्ने र त्यसैले रोग निम्त्याउने आँकलन चिकित्सकहरुको छ ।
आँखामा हुने प्रमुख तीन पत्र र नानीलाई समेत असर गर्ने यो रोग लागेका धेरै बिरामी ढिलो अस्पताल पुग्छन । तत्काल उपचार शुरू नगरिए आँखाको ज्योति गुम्छ, आँखा सुक्छ । यो रोग प्राय १६ वर्षमुनीका बालबालिकामा बढी लाग्ने गर्दछ ।
नेपाली रोग !
नेपालमा सन् १९७५ मा पोखरामा पहिलोपटक यो रोग देखिएको थियो । तर, शुरूमा यसलाई ‘ट्युमर’ भनियो । सन् १९७९ मा डा. मदन उपाध्यायको टोलीको अध्ययनले यसलाई सिजनल हाईपरएक्युट पानुभिआइटिस (सापु) रोगको नाम दियो । तर, कारण भने प्रष्ट भएन ।
त्यसपछिका करीब २० वर्ष यो रोग देखिएन । तर, सन् २००० पछि फेरि देखियो, २००४ पछि भने बढी नै आउन थाल्यो । यो रोग पत्ता लगाएका डाक्टर मदनकुमार उपाध्याय भन्छन्, ‘यो रोग पहिले ‘आँखा पाक्ने रोग’मै सिमित थियो । तर पछि आँखा पाक्नेभन्दा गम्भीर प्रकृतिको देखियो ।’
लामो अनुसन्धानपछि उनै डाक्टर उपाध्यायले यो रोगलाई ‘सापु’ नाम दिएका थिए ।
रोग देखिएको चार दशक नाघिसक्दा पनि यकिन कारण पत्ता लागेको छैन । कारण खोज्न मुसा र गिनीपिगमा अनुसन्धान गरे पनि सफलता हात लागेन । कुनै बिरामीमा ब्याक्टेरिया र कुनैमा भाइरस भेटिएकोले यही हो भन्न सकिने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् ।
हाल भारत, भूटान, बर्मा, चीन र ताइवानमा समेत यो रोगका एकादुई केस बाहिर आएको चिकित्सहरुले बताएका छन् ।
चिकित्सकहरुका अनुसार सेतो पुतली करिब ३ सय प्रजातिका छन् । त्यसमध्ये एक प्रजातिको सेतो पुतलीमा शीरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ ।
यो उज्यालो वस्तु जस्तै बत्ति, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने चिकित्सक बताउँछन् । पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसका कारण धेरै यो रोग फैलिएको चिकित्सहरुको बुझाइ छ । यो सेतो पुतली पोखरा आसपासमै बढी पाइने अध्ययनले देखाएको छ ।
कहिलेकाहीं र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग भएको स्वयं चिकित्सकहरू नै बताउँछन् । एक पटक आँखा संक्रमित भयो भने आँखाको रोशनी २४ घण्टा वा अझै कममा समयमा जान सक्ने चिकित्सकहरु बताउँछन् ।
डा. राजीवका अनुसार प्रत्येक वर्ष ३५ जना भन्दा बढी मान्छे यस संक्रमणका कारण आफ्नो दृष्टि गुमाएका छन् । सेतो पुतली उज्यालो बत्तिमा बढी आकर्षित हुने हुनाले त्यसबाट बच्न उनले सुझाए । ‘सेतो पुतलीको सिधा संसर्गबाट मात्रै होइन, पर्दा, सिरक, टावेल, झ्यालबाट पनि समस्या निम्त्याउन सक्छ,’ उनले भनेका छन, ‘पुतली छोइहालियो भने राम्ररी हात नधोई आँखा छुनुहुन्न ।’