तस्बिरः सागर बस्नेत
काठमाडौं । कुवेतबाट ३ सय ६ जना नेपाली महिला त्रिभुवन विमानस्थलमा आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ । जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत १ सय ४९ जना आएका हुन् । पहिलो उडान कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे र दोस्रो उडान ६ बजे गरेको थियो । जजिरा एयरलायन्सको दोस्रो जहाज २.०० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको थियो ।
बिहीबार नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन् । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो ।
कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले दिइएको जानकारी अनुसार आज स्वदेश फर्किएका सबै आममाफी पाएका हुन् । अझै पनि नेपाल फर्कने अन्य नेपाली नागरिक प्रतीक्षामा रहेको उनले बताए । उनीहरु लकडाउनको समयमा जेलमा रहेको अवस्थामा त्यहाँको सरकारले आममाफी दिएको थियो ।
कुवेतबाट फर्कन चाहेका ७ हजार ९ सय ९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । तिनमा पुरुष १ हजार ६ सय ८८ र महिला १ हजार ३ सय ३ जना छन् । यी सबैलाई नेपाल पठाउन कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । नेपाल पठाउने कार्य अनुसार आज पहिलो चरणमा तीन सय जना ६ नेपाली बिहिबार फर्काएको हो ।
बुधबार उनीहरु आउने भनिएपनि कुवेतको र नेपालको समय तालिका नमिलेकाले रद्ध भएको थियो । दुबैतर्फको सहमतिमा आज दुबै जहाज अवतरण हुने तय भएको थियो ।