कोन्में, लम र लेम नोचन खोर्लो ह्रिमर्छेको सन्तानः प्राज्ञ डा. गुरुङ

-


     मर्दी न्युज    
     ३१ जेष्ठ २०७७ मा प्रकाशित


तस्विर स्रोतः प्राज्ञ डा. गुरुङको फेसबुकबाट

‘गण्डकी प्रदेशको अन्नपूर्ण हिमालको काखमा गुरुङहरुको सृष्टि भएको छ’

पोखरा । तमु (गुरुङ) समाजको गठन तीन समूह मिलेर बनेको प्राज्ञ डा. जगमान गुरुङले बताए । कुगी, सोंगु से र क्ले मिलेर तमु (गुरुङ) समाज बनेको गत मंगलवार वेदबहादुर ल्हेँगे गुरुङ (विवेक)द्वारा सञ्चालित बन्दाबन्दीको अवधिभर निरन्तर संवादको २३ औँ श्रृङ्खलामा प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङले सो कुरा बताएको हो ।

प्राज्ञ डा. गुरुङले नोचन खोर्लो ह्रिमर्छेको जेठो छोरा कोन्मे (घोताने), माइलो लामा (लम) र कान्छो लामिछाने (लेम) गरी एकै बुवाको तीन भाइ सन्तान भएको बताए । कालान्तरमा करणी बोलेर कुटुम्बको सम्बन्ध गाँसेको उनले जनाए ।

उनले भने– ‘सोँगु भनेको तीन घरे, जेठो घोताने, माइलो लामा र कान्छा लामिछाने । यिनीहरु नोचन खोर्लो ह्रिमर्छेको जेठो छोराको सन्तान घोताने, माइलाको सन्तान लामा र कान्छाको सन्तान लामिछाने । कालान्तरमा गएपछि करणी बोलेर कुटुम्ब लायो ।’

‘गण्डकी प्रदेशको अन्नपूर्ण हिमालको काखमा गुरुङहरुको सृष्टि भएको छ’
सोही कार्यक्रममा प्राज्ञ डा. जगमान गुरुङले गुरुङहरु मंगोलियाबाट बसाई सर्दै आएको नभई अन्नपूर्ण हिमालको काखमा सृष्टि भएको दृष्टान्त उल्लेख गरेका छन् । उनले गुरुङहरु आदिवासी जनजाति नभई भूमिपुत्र भएको बताएका छन् ।

प्राज्ञ गुरुङले आफ्नो हालसम्मको अध्ययनअनुसार गुरुङको उत्पत्ति थलो गण्डकी प्रदेशको अन्नपूर्ण हिमालको काखमा भएको बताउँदै पृथ्वी र आकाशको सृष्टि पछि मानवको सृष्टि भएको बताएका छन् । ‘गुरुङ भाषामा ‘स के जी, मु के जी, म्ही के जी ?’ (पृथ्वीको उत्पत्ति, आकाशको सृष्टि, मानव सृष्टि) भएको उल्लेख गर्दै त्यसबेलामा अन्नपूर्णको काँठमा पनि मानिसको सृष्टि भएको छ’ उनले भने, ‘गादो लगाउने, बख्खु ओढ्ने त्यो मनाङ मुस्ताङको भेष होइन । तिनीहरु भूमिपुत्र हुन ।’

त्यस्तै प्राज्ञ गुरुङले पच्यु क्ल्हेप्रीको शास्त्रमा उल्लेख गरेको ‘सफुती क्ह्याल्सा’ जुम्लाको सिञ्जा क्षेत्र भएको बताए । उनले सफुती क्ह्याल्सा भनेको माटोको भाडा बनाउने ठाउँ भएको उल्लेख गर्दै भेडा पालन गर्ने ठाउँ भएको बताए ।

‘कालान्तरमा पश्चिम नेपालको मानसरोवर कैलाश पर्वत, जुम्ला, डोल्पा, मुस्ताङ, मनाङ हुँदै लमजुङको क्होलामा मानव बसाईं सराई गरेर आएको छ । यहाँका भूमिपुत्रहरु र कालान्तरमा बसाइँ सरेर आएकाहरु दुई समूह मिलेर वर्तमान तमु समाजको संगठन भएको छ ।’ प्राज्ञ गुरुङले भनेका छन् ।

वर्तमान तमु समुदायमा तीन समुह रहेको बताउँदै तिनीहरु ‘कुगी, सोंगु सेक्ले’ रहेको उनले बताए । गुरुङको जात भनेको पहिचान भएको बताउँदै ठूलो सानो नभएको बताए । उनले कुनै समयमा मुखिया सामान्ती प्रथा रहेको र त्यसको अन्त्य भइसकेको बताए ।

त्यस्तै गुरुङको परम्परागत संस्कार र संस्कृतिको कुरा गर्दा तीनवटा खेगी (पुरोहित) रहेको बताए । सृष्टिको पच्युलाई प्येको भाषमा नम बताउँदै ल्हेंगे पच्युमा नमतिथो र क्रोम्छें पच्युलाई नमत्हयको रुपमा चिनिने बताए । यसैगरी पच्यु खेगी विद्या सिक्नेमा ल्हेंगे भित्र पनि तार्खु म्ल्होंखु हुने बताए । त्यस्तै क्रोम्छेंका ६ भाइ छोरामध्ये नम्जु क्रोम्छें र नादा क्रोम्छेंले यो काम गर्ने बताए । अन्य क्रोम्छैंहरुले भैंसीको मासु खाने र पच्यु खेगीको काम नगर्ने बताए ।

त्यस्तै क्ल्हेप्री र वोन लमबीच आपसी विद्या साटेको पनि बताएका छन् । उनले क्ल्हेप्रीले लगाउन उर्गेन वोन लमको भएको बताउँदै तमु प्ये ल्हु संघ खोलेपछि क्ल्हेप्रीको उर्गेन परिवर्तन गरेको बताए । ‘तमु प्ये ल्हु संघमा परम्परागत क्ल्हेप्री र वोन लमको उर्गेनमा कुनै फरक छैन’, उनले भने ।

यद्यपि अन्नपूर्ण हिमालको काखमा तमुहरुको सृष्टि भएको कुरामा भने तमु प्ये ल्हु संघ पच्यु समितिका अध्यक्ष कुलप्रसाद भने सहमत छैनन् । उनले मंगोलियाबाट नै आएको बताए । त्यस्तै मरेपछि मृतकको हंसलाई कैलाश मानसरोवरमा लैजाने कुरामा पनि आपत्ति जनाए ।

त्यस्तै वोन लम समितिका केन्द्रीय अध्यक्ष गंगाबहादुर गुरुङले पनि अन्नपूर्ण हिमालको काखमा मानव सृष्टि भएको भन्ने कुरामा सहमत छैनन् । त्यस्तै कैलाश पर्वत गुरुङको स्वर्ग हो भन्ने कुरामा पनि उनले आपत्ति जनाए । ‘अन्नपूर्ण हिमालको काखमा मानव सृष्टि भए वैज्ञानिकहरुले प्रमाणित गर्नु पर्यो नि । अनि हाम्रो शास्त्रअनुसार जुन ठाउँबाट आएको छ, त्यही ठाउँ हुँदै आत्मालाई स्वर्ग लैजाने गर्छ, विज्ञहरुले यसरी शास्त्रको कुरालाई वंग्याउनु उचित हुँदैन ।’ उनले भने, ‘वैज्ञानिक आधार के हो, उहाँले प्रष्ट पार्नु पर्छ ।’