काठमाडौँ, ५ असार । बिहीवार कुवेत, ओमान र मलेसियाबाट गरी ४५५ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । विदेशमा कोरोनाका कारण अलपत्र परेका नागरिक स्वदेश आइपुगेका हुन् । बिहीवार मलेसियाबाट १५८ जना, कुवतेबाट १५० जना र ओमानबाट १४७ जना नेपाली काठमाडौँ आइपुगेका छन् । कुवेतबाट जजिरा एयरमार्फत, ओमानबाट सलाम एयरको चार्टर्ड उडानमार्फत र मलेसियाबाट हिमालयन एयरको चार्टर्ड उडानमार्फत स्वदेश आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपाली श्रमिकलाई आफैँले निःशुल्क रूपमा काठमाडौँसम्म ल्याइदिने व्यवस्थाअनुरूप उनीहरू आएका हुन् ।
यसअघि चारवटा उडानमार्फत पाँच सय ९८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको अस्थायी क्याम्पमा बसिरहेकालाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन् । उनीहरू सबैलाई कुवेतले निःशुल्क रूपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेको दूतावासले जनाएको छ । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।
विदेशबाट घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ । यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशङ्का भएमा काठमाडौँकै अल्पकालीन क्वारेन्टानमा राखिने छ । सरकारले विदेशबाट घर फर्किएका नेपालीलाई अल्पकालीन अवस्थामा राख्नका लागि काठमाडौँमा पनि झण्डै एक हजार ५०० क्षमताको क्वारेन्टाइन शय्याको व्यवस्था गरेको छ ।
सामान्य अवस्थामा भने सेनाको समन्वयमा विदेशबाट फर्कनेलाई सम्बन्धित जिल्ला नै पठाइन्छ र सम्बन्धित पालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्नु पर्दछ । यस्तै मलेसियाबाट समस्यामा परेकामध्ये बिरामी, गर्भवती, ज्येष्ठ नागरिकलगायतलाई प्राथमिकतामा राखेर दूतावासले बिहीबार हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपाल पठाएको जनाएको छ ।
यूएईबाट १४८ जना बोकेर नेपाली एयरलाइन्स उड्यो
संयुक्त अरब इमिरेट्स (यूएई)बाट एकसय ४८ जना नेपाली कामदार बोकेर नेपाल एयरलाइन्सको विमान शुक्रबार बिहान उडेको छ । जसमा एक सय एक जना महिला र ४७ जना पुरुष रहेको नेपाली दूतावासले जनाएका छन् ।
यूएईबाट अलपत्र नेपालीलाई फिर्ता पठाएको यो दोश्रो पटक हो । यसअघि एयर अरेबियाले १६८ जना यात्रु ल्याएको थियो ।