विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने नेकपाको निर्णय

-


     मर्दी न्युज    
     ६ असार २०७७ मा प्रकाशित


काठमाडौँ । विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने नेकपा सचिवालले निर्णय गरेको छ । नेकपाको सचिवालय बैठकले शनिबार उक्त निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“सचिवालय बैठकमा अहिले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको प्रावधानको बारेमा छलफल भयो । जसअनुसार नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालिएको छ,” नेकपा प्रवक्ता श्रेष्ठले भने, “त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सातवर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक व्यक्तिले नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो ।”

तर सामाजिक सांस्कृतिक र आर्थिक अधिकार भने विवाह गरेको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्रको व्यवस्था गर्न सकिने उनको भनाइ थियो ।

२०७५ सालेदखि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकमा यसअघि राज्यव्यवस्था समितिमा रहेका सदस्यहरुलाई बोलाएर नेकपाका अध्यक्षद्वयले छलफल गरेका थिए । सबै सांसदहरुले सातवर्षको अवधिपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताएका थिए ।