तानसेन पहिरोः मृत्यु हुनेको संख्या चार पुग्यो, एकको पहिचान खुल्न बाँकी

-


     मर्दी न्युज    
     ९ असार २०७७ मा प्रकाशित


पाल्पा, ९ असार । पाल्पाको तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै सोमबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रहरीले मङ्गलबार दिउँसो पहिरो पन्छाउने क्रममा थप एक जनाको शब फेला परेपछि मृतकको संख्या चार पुगेको हो ।

पहिरोले चार वटा सवारीसाधनलाई बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको थियो । पहिरोमा परेर मृत्यु हुनेमा पाल्पाका रिव्दीकोट गाउँपालिका २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रे  पाँचखाल नगरपालिका ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका २९ बाङ्गेसालका २३ वर्षीय वीरबहादुर गुरुङ रहेका छन् । मङ्गलबार फेला परेको शबको भने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।

तानसेनदेखि तम्घास जाने क्रममा चार वटा सवारीसाधनलाई पहिरोले बगाएको थियो । तीन जनामध्ये २ जनाको घटनास्थलमै र एक जनाको मिसन अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको थियो । प्रहरीले तीनै जना मृतक लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करका रहेको जनाएको छ । पहिरोले लु २ ख १३७६ नम्बरको ट्रक, लु १ च ७०४३ नम्बरको बलेरो र लु १ च ७०११ नम्बरको कारलाई बगाएको थियो ।

तानसेन–तम्घास सडक चौडा गरिरहेको अवस्थामा आइतबार रातिदेखि नै अबिरल वर्षाका कारण सडकमा पहिरो खस्दा घटना भएको हो ।



Tags: