पोखरा, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ ।
धान दिवसको अवसर पारेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरुको साँस्कृतिक पर्व धान दिवस, २०७७ को उपलक्ष्यमा सम्पूर्ण किसान लगायत स्वदेश तथा विदेशमा रहेका दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन ।
असार १५ गतेलाई रोपाईँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले समेत मनाउने परम्परा रहेको र असार महिनालाई मुठी खाएर मुरी उव्जाउने महिनाको रुपमा पनि लिने गरिएको उनले बताएका छन ।
शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले भने, “आजको दिन कामको चटारोका कारण थकित भएका किसानले शक्ति प्राप्तिका लागि दहीच्यूरा खाने र शरिरमा शितलता भई शक्ति सञ्चय हुन्छ भन्ने विश्वास गर्नुका साथै असारे भाकामा गीत गाउँदै हिलोमा धान रोपी रमाइलो पनि गरिन्छ ।”
विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको सन्दर्भमा यस दिवसले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको उनले बताएका छन ।
उनले भनेका छन, ‘साथै, कृषि तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भर भई समुन्नत एवं समृद्ध अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन आजको दिनले हामी सवैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’