पोखरा, १६ असार । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार मंगलवार बिहानसम्म कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ४ हजार ८४३ पुगेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म एक लाख २६ हजार १२७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ५८ हजार ३१४ जनाले संक्रमणका कारण ज्यान गुमाएको छ । त्यस्तै ज्यान गुमाउने देशको तेस्रो स्थानमा रहेको बेलायतमा ४३ हजार ६५९, इटलीमा ३४ हजार ७४४ तथा फ्रान्समा २९ हजार ८१६ मानिसले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै विश्वविद्यालयको तथ्याङ्कअनुसार विश्वभर संक्रमितको संख्या आज बिहानसम्म एक करोड २ लाख ७४ हजार २७४ छ ।
सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या अमेरिका छ । अमेरिकामा हालसम्म २५ लाख ८७ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा १३ लाख ६८ हजार १९५ जनामा संक्रमणको पुष्टि भइसकेको छ भने रुसमा ६ लाख ४० हजार २४६, भारतमा ५ लाख ४८ हजार ३१८ र बेलायतमा ३ लाख १३ हजार ४७० जनामा संक्रमण पुष्टि भैइसकेको छ ।
चीनको वुहान शहरबाट शुरु भएको यस कोरोनालाई जितेर घर फर्किनेको संख्या विश्वभर गरी ५२ लाख १५ हजार ५७५ जना रहेका छन् । सबैभन्दा धेरै निको हुनेको संख्या ब्राजिलमा रहेका छन् । ब्राजिलमा हालसम्म कोरोनालाई जित्नेको संख्या ७ लाख ५४ हजार ५५८ रहेको छ । त्यस्तै अमेरिकामा ७ लाख ५ हजार २०३ रहेको छ भने रुसमा ४ लाख २ हजार ७७८ जना रहेको छ ।