कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु, २८ हजार बढी संक्रमित

-


     मर्दी न्युज    
     १६ असार २०७७ मा प्रकाशित


कोरोना संक्रमणका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको जनाएको छ ।

एनआरएन स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १÷१ जना रहेका छन । यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ । वैदेशिक रोजगार बोर्डले दुई साताअघि सार्वजनिक गरेको तथ्यांक हो यो । त्यसपछि बोर्डले नयाँ तथ्यांक निकालेको छैन । बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले कम्पनी र बासस्थानमा जनघनत्व बढी भएकाले नेपाली कामदार बढी प्रभावित रहेको बताए । कोरोनाबाट ज्यान गुमाउनेको तथ्यांक परराष्ट्र मन्त्रालयले अध्यावधिक नगरेकाले यो संख्या थपघट हुन सक्ने सूचना अधिकारी सुवेदीको भनाइ छ ।

विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण दर बढ्दो देखिएको छ । विभिन्न मुलुकमा गरी २६ हजार २ सय २७ जना नेपाली संक्रमित भएका छन । यसमध्ये करिब ७० प्रतिशत अर्थात् १८ हजार ७ सयभन्दा बढी निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी कतारमा १८ हजार ४ सय नेपाली संक्रमित भएको संघको दाबी छ ।

दक्षिण अफ्रिकामा यसै साता पहिलो पटक पाँच नेपालीमा कोरोना देखिएको छ । यसअघि अफ्रिकी मुलुकमा १० जना नेपालीमा संक्रमण देखिएको संघले जनाएको छ । त्यस्तै, बंगलादेशमा १५ र भारतमा १ सय ५० जना संक्रमित रहेको पुष्टि भएको छ ।

संघका अनुसार अमेरिकामा १ हजार ६ सय, बेलायतमा १ हजार २ सय २१, साउदी अरबमा ६ सय ७४, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४ नेपाली संक्रमित छन । यस्तै मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानडामा १३, अष्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्यान्डमा ५ जना संक्रमणको सिकार भएका छन् । जर्मनीमा ४, फिनल्यान्डमा ४, साइप्रसमा ३, न्युजिल्यान्डमा ३ नेपाली संक्रमित भएका छन् । माल्टा, हङकङ, पोल्यान्डमा २/२, म्यानमार र फ्रान्समा १/१ जना संक्रमित भएको संघले जनाएका छन् ।