पोखरा, ९ साउन । नेपालमा थप एक सय ३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म नेपालमा ५ हजार ३ सय ८३ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ३५ हजार ८२ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा १९ हजार ४ सय ४४ जना रहेका छन् । यस्तै आइसोलेसनमा ५ हजार ३ सय ८३ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा १०७ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १२ हजार ९ सय ४७ रहेको प्रवक्ता डा गौतमले बताए ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट शुक्रवार थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रवार मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीया बृद्धा रहेका छन् । उनको शुक्रबार बिहान ९ः४५ नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनी मुटुसम्बन्धी बिरामी र निमोनियाबाट ग्रसित थिइन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।