वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     ११ साउन २०७७ मा प्रकाशित


वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको मेसु डा. मदन उपाध्यायले जानकारी दिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा बसोवास गर्दै आएका ६५ वर्षका वृद्धको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा आईतबार बिहान मृत्यु भएको र आईतबार साँझ आएको पिसिआर रिर्पोटमा कोरोना संक्रमण संक्रमण देखिएको उनले बताए ।

मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो । कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा उनको स्वाब संकलन गरी उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयरमा लगिएको थियो । शनिबार राति ८ बजे आरडिटी पोजेटिभ आएपछि कोरोनाको शंकास्पद बिरामीका रुपमा उनलाई गण्डक अस्थायी कोभिड अस्पतालमा लगि उपचार सुरु गरिएको थियो । सोही दिन राति ११ बजे अचानक उनको अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

वीरगञ्जस्थित आदर्शनगरमा व्यवसाय सञ्चालन गर्दै आएका उनको आइतबार बिहान ६ः१० मा मृत्यु भएको गण्डक अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले बताए ।



Tags: