अमेरिकामा प्रतिदिन एक लाख कोरोना संक्रमित बढ्ने फाउचीको चेतावनी

-


     मर्दी न्युज    
     १७ असार २०७७ मा प्रकाशित


एजेन्सी । अमेरिकामा प्रत्येक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले बताएका छन् ।

संक्रामक रोग विशेषज्ञसमेत रहेका डा. फाउचीले सिनेट समक्ष अमेरिकामा प्रतिदिन एक लाख कोरोना संक्रमित फेला परे आफू आश्चर्यमा नपर्ने बताएको बीबीसीको समाचारमा जनाइएको छ ।

हाल अमेरिकामा हरेक दिन ४० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । फाउचीले चेतावनी दिँदै भने, ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन । स्पष्टरूपमा भन्नुपर्दा हामी नियन्त्रणमा छैनौं ।’

अमेरिकीहरूले पर्याप्तमात्रामा मास्क नलगाइरहेको र सामाजिक दूरी पनि नमानेकाले अमेरिकाको अवस्था झनै खराब हुने फाउचीको भनाइ छ ।

फाउचीले पछिल्लो समय फ्लोरिडा ऐरिजोना, टेक्स र क्यालिफोर्निया गरी चारवटा राज्य संक्रमणबाट सर्वाधिक प्रभावित बनेको बताए।

कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २६ लाख २९ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २७ हजार ३ सय २२ छ ।

फाउचीले के भने?

सिनेटसमक्ष आफ्नो धारणा राख्ने क्रममा फाउचीले अमेरिकी राज्यहरूले लकडाउन खोल्ने क्रममा ‘आधारभूत आधार’लाई नजरअन्दाज गरेको र यसले संक्रमित संख्या बढ्ने बताए।

‘म ठ्याक्कै यति नै हुन्छ भनेर अन्दाज गर्न सक्दिन तर यो भयावह हुनेछ, म यसको ग्यारेन्टी गर्छु’, फाउचीको भनाइ उद्धृत गर्दै सिनेटर एलिजाबेथ वारेनले भनिन्।

‘किनकी देशको एउटा भागमा महामारी भइरहेको अवस्थामा अर्को भागले राम्रो गरिररहे पनि उनीहरू जोखिममा रहिरहन्छन’, फाउचीले भने, ‘हामी महामारी बढीरहेको भएको ठाउँमा मात्र ध्यान केन्द्रित गर्न सक्दैनौं। यसले पूरा राष्ट्रलाई जोखिममा पार्छ।’

यसैगरी डा. फाउचीले अमेरिकी सरकारलाई मास्क उत्पादन गर्न र मानिसहरूलाई निःशुल्क वितरण गर्ने सुझाव दिएका छन्। उनले सामाजिक दूरीको वास्ता नगर्ने अमेरिकी नागरिकहरूको  आलोचना गरेका छन्।