पोखरा, १८ असार । गण्डकी प्रदेशको ४ जिल्लामा गरी थप ८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीवार बिहान जारी गरेको अध्यावधिक विवरण अनुसार बागलुङ, पर्वत, स्याङ्जा र तनहुँका गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुमध्ये बागलुङका १ जना, स्याङ्जाका २ जना, पर्वतका २ जना र तनहुँका ३ गरी ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार १४ पुगेको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक डा. शर्माले जानकारी दिए ।