काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको छ ।
बिहीबार दायर गरिएको मुद्दामा कसुरदार बम्जनलाई १२ देखि १४ वर्षसम्म सजायको माग दाबी गरिएको छ । मतियारको रुपमा रहेका उनका दुई सहयोगीलाई पनि सजायको माग गरिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तपस्वी रामबहादुर बम्जन भनेर चिनिने रामलाल बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको जिल्ला न्यायधिवक्ता केशव प्रसाद गौतमले जानकारी दिएका छन ।
त्यस्तै प्रतिवादी बम्जनलाई लुकाउन छिपाउनमा सहयोग गरेका उनका सहयोगी तोक्तेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र जेबी गुरु भन्ने जीतबहादुर तामाङविरुद्ध पनि मुद्दा दायर भएको हो ।
बम्जनले २०७३ साल साउन २० गते राति करिब सवा ९ बजेको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ जबर्जस्ती करणी गरेको आरोप छ । घटना भएको समयमा बालिका नाबालिक रहेको थियो । उनको उमेर १५ वर्ष मात्र थियो । १८ वर्ष भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।
‘बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सुखका लागि बालबालिकालाई प्रयोग गर्ने–गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर ग¥यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन बमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ, त्यही बमोजिम हामीले मौलिक अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को ग बमोजिम १४ वर्षभन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैदको माग दाबीसहित मुद्दा दायर गरेका हौं,’ न्यायधिवक्ता गौतमले भने ।
पीडितलाई क्षतिपूर्ति भराउने माग दाबीसहित अभियोग पत्र पनि दर्ता गराइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दायर भएपनि प्रतिवादी बम्जनसहित उनका दुई मतियार फरार छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी भने जारी नै छ ।