![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Oli-Prachanda.jpg?fit=960%2C640&ssl=1)
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको तित्तताका कारण पार्टी फुटको संघारबाट गुज्रिरहेका बेला बालुवाटारमा वार्ता सुरु भएको छ ।
ओली र प्रचण्डबीच सुरु भएको उक्त वार्ता निर्णायक हुने अथ्र्याइएको छ । प्रचण्ड शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्के लगत्तै वालुवाटर पुगेका हुन् ।
वार्तामा ओली र दाहालका अलावा नेकपाका नेताहरु महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागि छन् ।
यसअघि वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालसहित दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए । दाहाल लगायतका नेताहरूले राष्ट्रपतिलाई महाअभियोगको हल्ला सत्य नभएको भन्दै विश्वस्त हुन आग्रह गरेको नेकपाका एक नेताले बताए ।
यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टासम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन ।
स्थायी कमिटीमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि नेकपामा केही दिनदेखि विवाद चलिरहेको छ। पार्टी फुटको संघारमा पुगेको भन्दै दोस्रो तहका नेताहरू पनि सक्रिय भएका छन् ।