कोरोना भाइरसको कारण विदेशमा थप १३ नेपालीको मृत्यु, विदेशमा मृत्यु हुनेको संख्या १४३ पुग्यो

-


     मर्दी न्युज    
     २१ असार २०७७ मा प्रकाशित


कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । शनिबार साँझसम्म विदेशमा २८ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१८ हजार २ सय ९३ जनाको उद्धार
यसैबीच कोरोना भाइरसका कारण विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरुको उद्धार तीव्र पारिएको छ । एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलबाट जुन पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्धार गरिएको छ ।

अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपाली घर फर्किएका छन्। यसैबीच विदेशमा निधन भएका नेपालीको ३ सय ५२ शव मध्य १ सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ। बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी छ । ती शवमध्ये १ सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।