आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

-


     मर्दी न्युज    
     २२ असार २०७७ मा प्रकाशित


पोखरा । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष कोरोना महामारीका कारण दोस्रो चरणको कार्यक्रम असार २२ र २३ गते तय गरिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले जनाएको छ ।
गत वैशाख ६ र ७ गते तय गरिएको कार्यक्रम यसवर्ष कोरोना महामारीका कारण गत चैत २१ गते स्थगित गरिएको थियो ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ । यो ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।