जापानमा भीषण वर्षा, ६५ जनाको मृत्यु, १६ जना बेपत्ता

-


     मर्दी न्युज    
     २५ असार २०७७ मा प्रकाशित


फोटो स्रोत: एनएचके

सन थापा
जापान, जुलाई ९ (२५ असार) । भीषण वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परि जापानमा ६५ जनाको मृत्यु भएको छ। त्यसैगरी १६ जना वेपत्ता भएका छन् भने १ जना अचेत अवस्थामा रहेको जापानी संचारसंस्था एनएचकेले जनाएको छ।

गत आइतबारदेखि परेको अविरल वर्षाले जापानको दक्षिणी क्षेत्रमा क्युशुमा पर्ने कुमामोतो प्रान्तको कुमा, यामागा, हितोयोसी, आसिकिता, याचुशिरो, चुनाकी शहरका बासिन्दाको बाढी, पहिरो र डुबानमा परि मृत्यु भएको हो । वेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यको लागि सेना परिचालन गरिएको छ ।

वर्षाका कारण करीव ४ हजार ७ सय घर क्षतिग्रस्त भएका छन् ।बिभिन्न ठाउँको सडकखण्ड पहिरो र नदी कटानले क्षतिग्रस्त भइ यातायात अवरुद्ध बनेकोछ। साथै नदीको वहाव बढेर विभिन्न वस्तीहरू डुबानमा परेका छन् । मुख्य गरी दक्षिणपश्चिम क्षेत्रका फुकुओका, सागा, नागासाकी, ओईता, कुमामोतो, खागोसिमा, मियाजाकी मध्येक्षेत्रका एहिमे, ओसाका, नारा, हयोगो, वाकायामा, पूर्वीक्षेत्रका सिजुओका, गिफुनागानो, आईची प्रान्त बढी प्रभावित बनेकोछ ।

जापान मौसम विज्ञान एजेन्सीले शनिबारसम्म बर्षा जारीरहने जनाएको छ। दिउँसो ४ बजे एक घण्टामा नागासाकी प्रान्तको माचुउरा शहरमा ३३।५ र आइची प्रान्तको ३३ मिलिमिटर पानी परेको थियो । सरकारले बढी प्रभावित क्षेत्रमा उच्च सर्तकता अपनाउदै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

फोटो स्रोत:एनएचके , भिडियो : सागर श्रेष्ठ गिफुप्रान्त



Tags: