सांकेतिक तस्विर
पोखरा, २६ असार । अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा गरी चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । एकै घरमा रहेका १० जनामध्ये पहिरोमा परी ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् ।
पहिरोमा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।
त्यसै गरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।