म्याग्दीमा ११ को मृत्यु, २२ बेपत्ता, ३५ घरमा क्षति, बेलीब्रिज बगायो [अपडेट]

-


     मर्दी न्युज    
     २६ असार २०७७ मा प्रकाशित


म्याग्दी । अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिनुका साथै ११ जनाको मृ्त्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । पहिरोका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा एक जना गरी ११ जनाको मृत्यु भएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा पहिरोका कारणले २१ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । त्यसैगरी मङ्गला गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा रहेको दुखु खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । उनका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७ बिममा १० घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको भएपनि पूर्ण विवरण भने आइसकेको छैन । त्यस्तै बेनी–जोमसोम सडक खण्डको गलेश्वरस्थित राहुघाट नदिमाथिको बेलीब्रिज राहुघाट नदीको कटानले पूर्णरुपमा क्षतिग्रस्त भएको प्रजिअ ढकालले बताए ।

पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ । रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अब यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएका छन् ।



Tags: