पोखरा, २६ असार । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी आज देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ३६ जना बेपत्ता रहेका छन । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको साँझ ५ बजेको मनसुन घटना विवरण अनुसार म्याग्दीमा ३, लमजुङमा ३, कास्कीमा ७, रुकुम पश्चिम २, जाजरकोटमा ७ र गुल्मीमा १ गरी २३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी म्याग्दीमा ३१ र जाजरकोटमा ५ जना गरी ३६ जना बेपत्ता रहेका छन । त्यस्तै लमजुङमा ३, कास्कीमा १७, रुकुम पश्चिममा १ र जाजरकोटमा ५ गरी २६ जना घाइते भएको उल्लेख छ ।
यसअघि बुधबार राति सिन्धुपाल्चोक पहिरोमा परी २ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको थियो । गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो । त्यसको भोलिपल्ट जेठ ३१ गते पर्वतको कुस्मामा गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो । यस्तै, गत हप्ता असार २० गते बझाङको केदारस्यु गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए ।
नेपालमा यसवर्षको मनसुन सुरु भएयता मृत्यु हुनेको संख्या ४० पुगेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यस अवधिमा ५५ जना बेपत्ता रहेका छन ।