तनहुँमा पहिरोमा परेर २ को मृत्यु, १० बेपत्ता

-


     मर्दी न्युज    
     २९ असार २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

तनहुँ, २९ असार । आइतबार रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ भने १० बेपत्ता भएका छन् । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी युवराज तिमिल्सिनाले बताए । पहिरोमा पुरिएर गम्भीर घाइते भएकी विकको उपचारका क्रममा रत्नहरि अस्पताल दमौलीमा मृत्यु भएको हो ।

यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा एकै परिवारका पाँच जना छन् । वेपत्ता हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी व्यास नगरपालिका–९ माझफाँटमा केशरबहादुर थापाको परिवारका ४ सदस्य पनि बेपत्ता भएका छन् । थापाकी ४० वर्षीया श्रीमती कमला, छोराहरु २४ वर्षका मनोज, २० वर्षका राजेश र २१ वर्षकी छोरी अन्जना थापा बेपत्ता भएको प्रहरीले जनाएको छ । यसैगरी व्यास–११ ओरालेमा पहिरोले एक पुरिएर एक जना बेपत्ता भएका छन् ।

पहिरोमा बेपत्ता भएकोको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलनमा सरोकारवाला निकाय तथा स्थानीयसँग समन्वय गरी काम भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार तनहुँकै रिसिङ–८ की ६० वर्षीया ज्योतिमाया थापाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।