
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण गरेका छन् ।
आइतबार एक समारोहका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूका लागि उपलब्ध गराइएका सवारी साधनहरूलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरेका हुन् ।
प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरूलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरूमा आत्मनिर्भर बनाई चुस्तदुरुस्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती गराउन गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल (पल्सर १८, TVS अपाचे ५ र बुलेट ५ थान) हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री गुरुङले हस्तान्तरण गरिएका सवारी साधनहरूको अवलोकन समेत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षालगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यलयहरूबाट उल्लेखनीय कार्य भइरहेको बताउँदै हस्तान्तरण गरिएका सवारी साधनहरूले प्रहरी काम कारवाहीमा चुस्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरूको मनोबल समेत वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।
साथै कुनै पनि सरकार सफल हुनका लागि उसका संयन्त्रहरू स्रोतसाधनयुक्त एवं दक्षतापूर्ण हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै देशका कुना कन्दराहरूमा समेत अग्रपंक्तिमा रहि सरकारको प्रतिनिधित्व गर्ने प्रहरी संगठनको सामरिक विकास आफ्नो प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा समेत आवश्यक सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको उनले बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता उल्लेख गर्दै प्रदेश सरकार आफ्नो स्थापनाकालदेखि नै प्रहरी ईकाइहरूलाई स्तरवृद्धि गरी स्रोतसाधनले मजबुद बनाउन दृढ रहेको बताए ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत गण्डकी प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै हस्तान्तरीत सवारी साधनहरूले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्ता संवेदनशील जिम्मेवारी वहन गर्दै पारदर्शिता, जवाफदेहिता र व्यवसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्ने जस्ता प्रहरी कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

साथै संगठनका तमाम समस्या र चुनौतीहरूलाई परास्त गर्न जिम्मेवारीको बोध, व्यवसायिक सामर्थ्य र जवाफदेहिताको कानूनी र नैतिक साहस आवश्यक भएको बताउँदै उपलब्ध जनशक्ति तथा स्रोतसाधनको उचित एवं प्रभावकारी ढंगबाट अधिकतम परिचालन गर्दै उच्च व्यवसायिक नैतिकता तथा पारदर्शी रूपमा समयानुकूल सेवा प्रदान गर्न हरपल क्रियाशिल रहेको बताए ।
कार्यक्रममा स्वागत मन्त्वय राख्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले सुशासन र शान्ति सुरक्षाको पूर्ण अनूभुति गर्ने नागरिकहरूका चाहना पूरा गराउने कार्यमा प्रदेश सरकारबाट हस्तान्तरण गरिएका उक्त सवारी साधनहरूले सम्पूर्ण प्रहरी कर्मचारीको मनोवल विकास र नागरिक मैत्री प्रहरी सेवासहितको गुणस्तरिय प्रहरी सेवा प्रदान गर्नमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी. लगायत पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।