सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

-


     मर्दी न्युज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित


बागलुङ, २६ साउन । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।

सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो ।

गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले मीठो स्वर भरेका छन । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाको सङ्गीत छ । स्रोता÷दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो । अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ । पछिल्लो एक महिनामा झण्डै दश लाख पटक हेरिएको छ । ‘स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो’, सङ्गीतकार थापाले भने ।

झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ । कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ । म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका छन् । हाल अमेरिकामा रहेका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । ‘मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो’, उनले भने ।