
फाइल तस्विर
पोखरा, २८ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधवार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, मोरङ, कपिलवस्तु र बारा जिल्लाका गरी ८ जना मृतक थपिएसँगै मृतकको संख्या ९१ पुगेको हो ।
मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।
त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका १४ निवासी ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोगी थिए । २७ गते कोरोना पुष्टि भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्ष पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन ७ गते कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन १८ गते कोरोना पुष्टि भएको थियो ।
त्यसका साथै सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ८ घर भएका ७२ वर्षीय पुरुषको साउन २७ गते मृत्यु भएको छ । उनी ४ दिनअघि ज्वरो आएर स्वाब संकलन गर्दा साउन २७ गते कोरोना पुष्टि भएको थियो । उनी थाइरोड तथा मधुमेहका तथा मुटुरोगी थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाा क्रममा मोरङ बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको साउन २८ गते कोरोना संक्रमणबाट मृत्यु भएको हो । ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।
त्यसैगरी कपिलवस्तु नगरपालिका २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ गते कोरोनाका कारण मृत्यु भएको हो । ज्वरो तथा निमोनिया भइ उनी साउन २५ गते बुटवलको कोरोना विशेष अस्पताल भर्ना भएका थिए । उनमा साउन २७ गते कोरोना पुष्टि भएको थियो ।
बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनी साउन २६ गते अस्पताल भर्ना भएका थिए । साउन २८ गते कोरोना पुष्टि भएका उनी मिर्गौला तथा दमका रोगी थिए ।

