
पोखरा, १० भदौ । पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमित हुनेहरुमा २९९ जना महिला र ५४६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ४ सय ११ जना गरी १४ हजार ४ सय ३९ जनाको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख ३५ सय १५४ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा ९ हजार ८ सय ३२ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १९ हजार ५ सय ४ रहेको प्रवक्ता डा गौतमले बताए ।