
पोखरा, ११ भदौ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा बिहीवार प्रदेशका ५ जिल्लाका २५ जनामा पोजेटिभ देखिएको हो ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज बिहान पर्वतको जलजला गाउँपालिका ४ का ३६ वर्षीय पुरुष भारतबाट आएका हुन् ।
त्यस्तै बाग्लुङको बाग्लुङ नगरपालिका ८ का २४ वर्षीय युवक भारतबाट आएका हुन । बागलुङ १ का २१ र ३४ वर्षीय दुई जना सुरक्षाकर्मी हुन् । उनीहरु नेपाल प्रहरीमा कार्यरत छन् ।
त्यस्तै लमजुङको बेसीसहर नगरपालिकाका कोरोना पुष्टि भएका ३ जनामध्ये २ जना नेपाली सेनाका हुन् भने १ जना नगरपालिकाका कार्यरत कर्मचारी हुन् ।
यसबाहेक अन्य संक्रमितहरु कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा तनहुँका ९, बागलुङका ८, लमजुङका ४, नवलपुरका ३ र पर्वतका १ जना छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ७७ पुगेको छ । तीमध्ये १६ सय ६५ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।


