
पोखरा । भारतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ। अहिलेसम्म त्यहाँ ६० हजार ४७२ जनाको मृत्यु भएको भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २३ जनाको मृत्यु भएको छ। अघिल्लो दिन बुधवार भारतमा १ हजार ५९ जनाको ज्यान गएको थियो ।
भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ७६० जना नयाँ संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको हालसम्मकै सर्वाधिक संख्या भएको भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा गत ११ मार्चमा कोरोनाभाइरस संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो। त्यसको ९७ दिनपछि मृतकको संख्या १० हजार पुगेको थियो। त्यसपछि भारतमा मृत्युदर तीव्र गतिमा बढिरहेको छ ।
अमेरिका र ब्राजिलपछि भारत तेस्रो धेरै संक्रमित भएको देश हो । तर, मृतक संख्यामा मेक्सिकोभन्दा पछि भारत चौँथो स्थानमा छ। मेक्सिकोमा करीब ६२ हजार ७६ जना, ब्राजिलमा एक लाख १८ हजार ६४९ र अमेरिकामा एक लाख ८० हजार ५९० जनाको मृत्यु भइसकेको छ।
विश्वमा ८ लाख २९ हजार ३३८ जनाको मृत्यु भइसकेको छ।