कोरोना संक्रमणका कारण शुक्रबार बिहानै थप ४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


कोरोना संक्रमणको कारण शुक्रबार बिहानै थप चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउने तीन महिला र एक पुरुष छन्।

भक्तपुर, मकवानपुर, झापा र मोरङमा गरेर थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

भक्तपुरमा ६२ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला, मोरङकी ५६ वर्षीया महिला र झापाका ८३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिए । उनमा दम, उच्च रक्तचापलगायत समस्या रहेको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

दम र निमोनियाको समस्या देखिएपछि परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । ७ भदौमा अस्पतालमा भर्ना भएकी उनको आज बिहान मृत्यु भएको हो ।

त्यस्तै मोरङ बेलबारी नगरपालिका वडा नं. ५ की ५६ वर्षीया महिला र झापा दमक नगरपालिका वडा नं. ३ का ८३ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

अत्यधिक खोकी, स्वास प्रश्वासमा समस्या देखिएका उनीहरुमध्ये बेलबारीकी महिलालाई भाद्र ९ गते कोरोना पोजेटिभ पाइएको थियो भने झापा दमकका पुरुषलाई भाद्र ३ गते कोरोना पोजेटिभ पाइएको थियो । उनीहरुको मृत्यु आज बिहान करिब ३ बजे भएको हो ।



Tags: