
पोखरा, १२ भदौ । पोखराका २ र नवलपुरका १ जनामा गरी गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रवार बिहान जारी गरेको विज्ञप्तिअनुसार पोखरा महानगरपालिका १६ का ५२ र ६८ वर्षीय पुरुष र नवलपुर गैंडाकोट ८ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगर १६ का दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनीहरु दुवैजना संक्रमित पोखरास्थित फिस्टेल अस्पतालबाट कोरोना लक्षण देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको निर्देशनालयले जनाएको छ ।
यसैगरी भरतपुर चितवन अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी (ब.सु.पू.) जिल्लाको गैंडाकोट–८ का संक्रमित व्यक्ति कलेज अफ मेडिकल साईन्स, भरतपुर चितवनमा कार्यरत चिकित्सक भएको निर्देशक शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २५ पुगेको निर्देशनालयले जनाएको छ ।
यसअघि आजै शुक्रबार बिहान १० बजेको अध्यावधिक विवरण अनुसार प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।
थप संक्रमितहरुमा नवलपरासी (ब.सु.पू.) जिल्लाका ८ जना, लमजुङका २, तनहुँका ४ र कास्कीका ३ जनामा संक्रमण पुष्टि भएको हो । देबचुली–१५ का संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत व्यक्ति हुन् भने लमजुङ जिल्ला, मर्स्याङ्दी–४ का संक्रमित भारतबाट आएका हुन् । त्यस्तै कास्की पोखरा महानगरपालिका–१७ का २ जना संक्रमित व्यक्ति पर्यटक प्रहरी हुन् भने अन्य सबै व्यक्तिहरू कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।
