
पोखरा, १२ भदौ । पोखरा महानगरपालिकामा आज शुक्रवार स्वास्थ्य निर्देशनालयले जारी गरेको तेस्रोपटकको विज्ञप्ति अनुसार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ७ वडाका गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
संक्रमितहरु पोखरा महानगर १६ का १५ वर्षीया युवती र ३९ वर्षीया महिला तथा ३५ र ४९ वर्षीय पुरुष गरी ४ जना रहेका छन् । त्यस्तै वडा नं. २ का २५ वर्षीय युवक, ११ का ५६ वर्षीया महिला, १४ का ३५ र २७ वर्षका युवक, ३ का २९ वर्षीय युवक, १ का १८ वर्षीय युवक र ५ का ३३ वर्षीय युवक गरी ११ जनामा पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर २ का संक्रमित व्यक्ति कामना विकास बैंक दीप शाखामा कार्यरत पुरुष हुन् भने ३ का अमरसिंहचोकस्थित एभरेष्ट बैंकमा कार्यरत कर्मचारी हुन् । त्यस्तै पोखरा १४ का संक्रमित व्यक्ति इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत व्यक्ति हुन् भने पोखरा ५ का संक्रमित व्यक्ति पोखराको औद्योगिक क्षेत्रमा कार्यरत व्यक्ति हुन् । अन्य संक्रमितहरु कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।
यसअघि आजै शुक्रवार स्वास्थ्य निर्देशनालयले १०ः०० बजे जारी गरिएको विज्ञप्तिमा पोखराका एक महिला र २ दुई तथा ११ः१० बजे जारी गरेको दोस्रो विज्ञप्तिअनुसार पोखरा १६ का दुई जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३६ जना पुगेको जनाइएको छ । संक्रमित सबैलाई आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।


