
टोक्यो । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् ।
बीबीसीका अनुसार उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित थिए । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ।
जापानी सञ्जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ ।
सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन्। उनको पदावधि २०२१ को सेप्टेम्बरमा सकिँदैछ । आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

