
पोखरा, १२ भदौ । पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज शुक्रवार संक्रमित हुनेहरुमा ३३४ जना महिला र ५९३ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा ६ हजार ४ सय ४६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ५ सय ७३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगैै सक्रिय संक्रमितको संख्या १६ हजार १९ जना रहेको प्रवक्ता गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख ५८ हजार ११० जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा ८ हजार ९ सय ३९ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १६९ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २० हजार २ सय ४२ रहेको प्रवक्ता डा गौतमले बताए ।