
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको संख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्यांक हेर्ने हो भने प्रत्येक २ घण्टामा नेपालमा १ कोरोना संक्रमितको मृत्यु भइरहेको छ । भदौ सुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोना संक्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै ७ जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या दैनिक बढ्ने देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १ सय ४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त संख्या बढेर १ सय ९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १ सय ४४ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सा ३३, काठमाडौं १८, मोरङ १६, धनुषा १३, बारा १२, बाँके र रुपन्देही ७/७, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहा ५/५, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्की ४/४, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोक ३/३, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा २/२ तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा १/१ जनाको मृत्यु भएको छ ।
प्रदेशगत रुपमा हेर्ने हो भने कोरोना संक्रमणबाट शुक्रबारसम्म प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ७८, वाग्मती प्रदेश ४२, गण्डकी प्रदेश १०, प्रदेश नं ५ मा २७, कर्णाली प्रदेश चार तथा सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १० वर्ष मुनिका उमेर समूहका संक्रमित मर्नेको संख्या २ महिला र २ पुरुषसहित ४, ११ देखि २० वर्ष उमेर समूहका ३ महिला र २ पुरुषसहित ५ तथा २१ देखि ३० वर्ष उमेर समूहका ४ महिला र ८ पुरुषसहित १२ जना छन् ।
यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका ४ महिला र १३ पुरुषसहित १७, ४१ देखि ५० वर्ष उमेर समूहका १० महिला र ३२ पुरुषसहित ४२, ५१ देखि ६० वर्ष उमेर समूहका ६ महिला र ३२ पुरुषसहित ३८, ६१ देखि ७० वर्ष उमेर समूहका १४ महिला र २६ पुरुषसहित ४०, ७१ देखि ८० वर्ष उमेर समूहका ५ महिला र २१ पुरुषसहित २६ तथा ८० वर्षभन्दा माथिको उमेर समूहका ३ महिला र ८ पुरुषसहित ११ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या ५५ दशमलव ५ प्रतिशत छ । हाल देशका सरकारी ३३ र निजी क्षेत्रको ११ गरी ४४ प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् । शुक्रबार देशभर ९ सय २७ जना कोरोना संक्रमित थपिएकामा तीमध्ये प्रदेश नं १ मा १ सय ११, प्रदेश नं २ मा ९१, बाग्मती प्रदेशमा ५ सय ३२, गण्डकी प्रदेश ३५, प्रदेश नं ५ मा १ सय १७, कर्णाली प्रदेश २० तथा सुदूरपश्चिम प्रदेश २१ जना रहेका थिए । प्रवक्ता गौतमका अनुसार हाल देशभर ५ सयभन्दा बढी संक्रमित भएका ९ जिल्ला छन् । काठमाडौं, ललितपुर, मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । मुस्ताङ र हुम्ला कोरोना संक्रमित मुक्त जिल्ला हुन् ।
मन्त्रालयको तथ्यांकअनुसार प्रदेश नं १ मा होम आइसोलेसनमा ४ सय २२, प्रदेश नं २ मा ३ हजार ८ सय ६२, बाग्मती १ हजार ६ सय १२, गण्डकी प्रदेश १८, प्रदेश नं ५ मा ४ सय ५६, कर्णाली प्रदेश २७ तथा सुदूरपश्चिम ४९ जना रहेका छन् । सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ४४, बाग्मती प्रदेश ९८, गण्डकी ३ तथा प्रदेश नं ५ मा १७ संक्रमितको उपचार भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि संक्रमितलाई सघन उपचार कक्ष र भेन्टिलेटरमा नराखिएको प्रवक्ता गौतमले बताए ।
शुक्रबारसम्म देशभर ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ छ । तीमध्ये आइसोलेसनमा १६ हजार १९ संक्रमित रहेका छन् ।
हालसम्म २० हजार २ सय ४२ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुने संक्रमितको संख्या ५५ दशमलव ५ प्रतिशत छ । देशभर शुक्रबारसम्म ८ हजार ९ सय ३९ क्वारेन्टिनमा छन् ।
कोरोनाबाट संक्रमित हुनेको संख्या प्रदेश नं १ मा १ हजार ५ सय ७४, प्रदेश नं २ मा ५ हजार ६ सय ५३, बाग्मती प्रदेश ५ सय ५४, गण्डकी प्रदेश ४ सय ४५, प्रदेश नं ५ मा १ हजार ५ सय, कर्णाली प्रदेश ४ सय १५ तथा सुदूरपश्चिममा ८ सय ९४ जना रहेको छ ।
यसैगरी कोरोनाबाट निको भएर घर फर्किनेको संख्या प्रदेश नं १ मा १ हजार ५ सय ३६, प्रदेश नं २ मा ४ हजार ५ सय १७, बाग्मती प्रदेश ९ सय ६६, गण्डकी प्रदेश १ हजार ६ सय ८८, प्रदेश नं ५ मा ४ हजार ७ सय ८, कर्णाली प्रदेश २ हजार २९ तथा सुदूरपश्चिम प्रदेशमा ४ हजार ७ सय ८९ जना रहेको छ । रासस

