
पोखरा, १४ भदौ । गण्डकी प्रदेशको बागलुङ र तनहुँका गरी थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालले आइतबार दोस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार बागलुङका एक स्वास्थ्यकर्मी र एक व्यापारी गरी २ जना र तनहुँको भानु नगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङका का दुई जना र तनहुँ भानु नगरपालिका ६ का ९ जना र भानुकै ७ का १३ जना गरी २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । तनहुँ भानुका संक्रमित ८ वर्षीया बालिकादेखि ६९ वर्षसम्मका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय २३ पुगेको निर्देशनालयले जनाएको छ ।
